News बेङ्गखडीको सेमिफाइनल प्रवेशको सम्भावना कायमै
गोलनेपाल

चन्द्रपुर । चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिगतर्फ समूह बी बाट बेङ्गखडी युवा क्लब, महोत्तरीले सेमिफाइनल प्रवेशको आफ्नो सम्भावनालाई कायम राखेको छ ।

समूह बी तर्फको आफ्नो दोस्रो खेलमा बेङ्गखडीले हिम कस्तुरी युवा क्लब, सिराहालाई १–० ले हरायो । चन्द्रपुर–६ शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको एक मात्र खेलमा बेङ्गखडीका लागि दोस्रो हाफको ३७औं मिनटमा रोशन बुर्जा मगरले एक मात्र निर्णायक गोल गरे ।

खेलमा निर्णायक गोलकर्ता बुर्जा नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको बेङ्गखडी समूह बी को शिर्ष स्थानमा छ । पराजित हिम कस्तुरी भने १ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तरगत फागुन २ गते आइतबारको खेल समूह ए तर्फ पर्सा फुटबल क्लब, पर्सा र मौवा देवी युवा क्लब, पर्सा बीच हुने आयोजकले जनाएको छ ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोग रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments