फिदिम । पूर्वी पहाडको सुन्दर नगरी फिदिममा खेलकुदको माहोल फेरि एकपटक तातेको छ । अन्तराष्ट्रिय आमन्त्रणासहितको तेस्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता यही चैत्र २५ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने भएको छ । आयोजक फिदिम भेट्रान्स क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।
हिलिहाङ गाउँपालिकास्थित रमणीय पर्यटकीय क्षेत्र जोरपोखरी, जोरपोखरी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य आयोजकले लिएको छ ।
प्रतियोगितामा भारतको एक टिमसहित कुल आठ टिमको सहभागिता रहनेछ । प्रतिस्पर्धा रोचक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
क्लबका अध्यक्ष रोशन श्रेष्ठका अनुसार प्रत्येक खेलका उत्कृष्ट खेलाडी ‘म्यान अफ द म्याच’लाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ भने विभिन्न विधागत पुरस्कारहरू ३ हजार रुपैयाँका दरले वितरण गरिनेछ । साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
खेलाडी तथा अफिसियलहरूको सुरक्षालाई ध्यानमा राख्दै एक लाख रुपैयाँसम्मको बीमा सुविधा, साथै खानपान र बसोबासको समेत उचित व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
करिब १९ लाख ७० हजार रुपैयाँको अनुमानित लागतमा सम्पन्न गरिने यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात