News शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
गोलनेपाल

साँघु । मैवाखोला गाउँपालिका वडा नं.-३ साँघु ताप्लेजुङमा जलजले क्लबको आयोजनामा जारी विशेष महाशिवरात्री मेला खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम दुई क्वाटर फाइनल खेल सम्पन्न भएका छन्।

पहिलो खेल साँगुरीगढी फुटबल क्लब धनकुटा र सिर्जनशील सामाजिक समाज ताप्लेजुङ बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा साँगुरीगढी एफसी धनकुटाले ३-१ गोलको शानदार जित निकाल्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। धनकुटाको जितमा सन्दिप श्रेष्ठले दुई गोल साथै नितेश लिम्बुले एक गोल गरेका हुन्।

त्यसैगरी धनकुटाकै डिफेन्डर मञ्जिल खड्काले आत्मघाती एक गोल गर्दा सिर्जनशील सामाजिक समाज ताप्लेजुङले खाता खोल्न सफल भएको थियो। उक्त खेलमा दुई गोल गर्न सफल धनकुटाका सन्दिप श्रेष्ठ म्यान अफ दि म्याच हुँदै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।

दोस्रो खेल सयपत्री सांस्कृतिक युवा समाज संखुवासभा र लालीमा क्लब ढुङ्गेसाँघु ताप्लेजुङबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा ५ - २ को फराकिलो जित हासिल गर्दै संखुवासभाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

संखुवासभाको जितमा सुजन लिम्बुले दुई गोल साथै सुसन लिम्बु,आयुम लिम्बु र सनिल लिम्बुले समान एक एक गोल गरेका हुन्। उता पराजित बनेको लालीमा क्लब ताप्लेजुङका लागि सगुन शेर्पा र सागर श्रेष्ठले समान एक एक गोल गरेका थिए।

उक्त खेलमा दुई गोलको योगदान दिएका संखुवासभाका सुजन लिम्बु म्यान अफ दि म्याच बन्दै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।

शुक्रबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जलजले क्लब निलो ताप्लेजुङ र साँगुरीगढी फुटबल क्लब धनकुटाले दिनको ठीक १२ बजे प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी शुक्रबार नै दोस्रो सेमीफाइनल खेल म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम र सयपत्री सांस्कृतिक युवा समाज संखुवासभा दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

Post Comments