News पाँचौं बिराट भेट्रान गोल्डकप शुरु, मिल्स भेट्रान्सको उत्कृष्ट शुरुवात
गोलनेपाल

सुन्दरहरैचा । मोरङमा शनिबारदेखि शुरु भएको पाँचौं बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मिल्स भेट्रान्स क्लब, मोरङले उत्कृष्ट शुरुवात गरेको छ ।

सुकुना फुटबल मैदानमा भएको उद्घाटन खेलमा मिल्स भेट्रान्सले भरौल भेट्रान्स क्लब, सुनसरीलाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । मिल्सको जितमा तेजमान लिम्बुले ह्याट्रिक गर्दा रुपक श्रेष्ठले थप एक गोल गरे । उता भरौल भेट्रान्सले भने विपक्षी टोलीका गोलरक्षक सहरलाल चौधरीको आत्मघाती गोल उपहार पाएको थियो । खेलमा मिल्स भेट्रान्सका ह्याट्रिककर्ता तेजमान लिम्बु म्यान अफ दि म्याच बने ।

यो जितसँगै मिल्स भेट्रान्स सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २२ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल काकरभिट्टा भेट्रान, झापा र कुर्साङ लिजेण्ड, भारतबीच हुने आयोजकले जानकारी दियो ।

बिराट भेट्रान क्लब, सुन्दरहरैचा, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चेत्र २८ गतेका दिन हुनेछ ।

 

Post Comments