काठमाडौं ।तेस्रो संस्करणको गोकार्णेश्वर सोबर फुटसल फेस्ट फाइभ ए - साइड फुटसल प्रतियोगिताको उपाधि आयोजक सोबर एफसीले जितेको छ। फाइनल खेलमा सोबर एफसीले राईनो चितवनलाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्दै उपाधि हात पारेको हो।
रोमाञ्चक फाइनल खेलको पहिलो हाफमा रविन गुरुङले गोल गर्दै राईनो चितवनलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा छवाङ दोर्जे लामाले शानदार गोल गर्दै सोबर एफसीलाई खेलमा फर्काएपछि निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो, जहाँ सोबर एफसीले उत्कृष्ट प्रदर्शन गर्दै २–० को जित निकाल्दै उपाधि सुरक्षित गर्यो।
प्रतियोगिताका व्यक्तिगत विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि संजोग क्षेत्रीले प्राप्त गरे भने उत्कृष्ट डिफेन्डर दीपक शाह घोषित भए। प्रतियोगितामा सर्वाधिक गोल गर्दै छवाङ दोर्जे लामाले उच्च गोलकर्ताको अवार्ड जिते। त्यस्तै उत्कृष्ट प्रदर्शनका लागि मिंमार लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको विजेता टोलीले रु ३,०३,३२३ तथा उपविजेताले रु १,००,००० पुरस्कार प्राप्त गरेका छन्।
गोकर्णेश्वर नगरपालिकाको प्रायोजन, बौद्ध तामाङ गुठीको सहप्रायोजन, बाग्मती प्रदेश खेलकूद विकास परिषद्को समन्वय तथा सोबर एफ सीको आयोजनामा मनकामना फुटसल एरेना , गोकर्णेश्वरमा २ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न पुनर्स्थापना तथा सुधार केन्द्रहरूका टोलीहरू र छिमेकी राष्ट्र भारत का टोलीसहित कुल १६ टोलीको सहभागिता रहेको थियो।
सामाजिक सन्देश बोकेको यस प्रतियोगिताले लागूऔषध विरुद्ध सचेतना फैलाउने र युवाहरूलाई खेलकुदमार्फत सकारात्मक दिशामा प्रेरित गर्ने उद्देश्यलाई थप सशक्त बनाएको आयोजकले जनाएको छ।