बुटवल । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै कपिलवस्तु–११, कपिलवस्तु बुटवल, रुपन्देहीमा जारी स्व. शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ कपिलवस्तु र समपुर्णबीचको निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि कपिलवस्तुले पेनाल्टीमा नतिजा आफ्नो पक्षमा पार्यो । त्यसअघि मयन्क मगर र मनिष थारुको गोलबाट समपुर्णले दुई गोलको स्पष्ट अग्रता बनाएको थियो । तर, कपिलवस्तुका लागि सन्जु सेन र ओम प्रकाश चौधरीले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । पेनाल्टीमा भने ४–३ ले कपिलवस्तु सफल बन्यो । खेलमा कपिलवस्तुका श्याम बियादी प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र २५ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल अभिषेक चचै फुटबल क्लब, रजहर, नवलपुर र मोन्स्टर गाईज फुटबल क्लब, सुनवल, नवलपरासीबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।