बुढीगंगा । बुढीगंगा गाउँपालिका, मोरङको आयोजनामा सम्पन्न भएको प्रथम बुढीगंगा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहाले जितेको छ ।
शुक्रबार भएको फाइनलमा सलहेशले चात्या सा फुटबल क्लब, झापालाई २–० ले हराउँदै उपाधिमाथि आफ्नो पकड बनाउन सफल भएको हो । सलहेशको जितमा फोडे फोफना र अबायोमी फाकुन्लेले गोल गरे ।
विजेता बनेको सलहेशले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता चात्या सा ले २ लाख ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । चात्या साका जनमय धामी फाइनल खेलको प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद ५ हजार हात पारे ।
त्यसबाहेक अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सलहेशका रेम्बो चौधरी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि सलहेश कै कुलदिप कार्की बने । उत्कृष्ट प्रशिक्षक पनि सलहेश कै राजीव यादव चुनिए । त्यस्तै उदीयमान खेलाडी घरेलु टोली बुढीगंगा टिमका रक्की माझी बने ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने प्रतियोगिताभरि कुल ४–४ गोल गरेका सलहेशका फोडे फोफना र अबायोमी फाकुन्लेले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी सलहेश कै अबायोमी फाकुन्ले घोषित भए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री भीम आचार्य लगायतले पुरस्कृत गरेका थिए ।