बुटवल । पाहुना टोली कपिलवस्तु–११ रुपन्देहीमा जारी स्व. प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बुटवल–७ दीपनगर स्थित सिद्धेश्वर माविको खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा कपिलवस्तु विजयी बन्यो । निर्धारित समयतर्फ खेलको ३५औं मिनटमा बिक्की चाम्लिङ राईको गोलबाट झरनाले खेलमा अग्रता बनाएको थियो । तर, ७२औं मिनटमा गणेश पुलामी मगरले कपिलवस्तुका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने कपिलवस्तु ५–४ ले विजयी बन्यो ।
खेलमा कपिलवस्तुका गणेश पुलामी मगर म्यान अफ दि म्याच चुनिए । कपिलवस्तुले अब चैत्र ३० गतेका दिन हुने फाइनलमा देवदह ब्वाईज, देवदहसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ ।