News फर्साटिकर बन्यो एनवाइसी कप च्याम्पियन
गोलनेपाल

यस बर्ष रुपन्देहीको अधिकांश नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेको र उपाधि पनि जितिरहको फर्साटिकर युवा क्लबले आफ्नो पोल्टामा अर्को उपाधि थपेको छ ।

शनिबार सम्पन्न तेस्रो एनवाइसी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि फर्साटिकरले जित्यो । तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा फर्साटिकरले बलियो आँकिएको डिएमसी तुल्सीपुरलाई सडन डेथमा ५–४ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको शुरुवातबाटै आक्रमक देखिएको डिएमसीले एकपछि अर्को आक्रमणको जालो बुने तापनि बललाई विपक्षीको जाली चुमाउन असफल हुँदा उपविजेता मै चित्त बुझाउन बाध्य भयो ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता डिएमसीले ५० हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक फर्साटिकरका शुबन्कर जिसी घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर पनि फर्साटिकर कै आकाश राना चुनिए भने सर्वाधिक गोलकर्ता पनि फर्साटिकर कै सुरज हमाल घोषित भए ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने पराजित डिएमसीका अमिर श्रेष्ठ चुनिए । नव एकता युवा क्लब, तिलोत्तमा–८ प्रदिपनगरको आयोजनामा गत कार्तिक २३ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका कुल १४ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments