News फराकिलो जितका साथ प्लानिङ ब्वाईज फाइनलमा, उपाधिका लागि गछियासँग भिड्ने
गोलनेपाल

इटहरी । फराकिलो जितका साथ प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं सुनसरीमा जारी रेडबुल १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाईजले सातदोबाटो युथ क्लब, ललितपुरमाथि ६–१ को फराकिलो जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्लानिङ ब्वाईजका लागि फागुराम थारुले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै रोमन भुजेल र प्रताप सिंह राईको नाममा समान एक–एक गोल रह्यो । उता पराजित सातदोबाटोका लागि भने सकल रेग्मीले एक मात्र गोल फर्काएका थिए । खेलमा प्लानिङ ब्वाईजका फागुराम थारु प्लेयर अफ दि म्याच बने ।

अब प्लानिङ ब्वाईज युनाइटेडले यही बैशाख ७ गतेका दिन हुने फाइनलमा गछिया युवा समाज, मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments