इटहरी । राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा सम्पन्न रेडबुल १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज, मोरङले जितेको छ ।
इटहरी रंगशालामा सम्पन्न फाइनलमा गछियाले प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । खेलको अन्तिमतिर दोर्जे तामाङले गरेको एक मात्र गोल गछियालाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।
विजेता बनेको गछिया युवा समाजले उपाधिसहित नगद १० लाख हात पार्दा उपविजेता प्लानिङ ब्वाईज युनाइटेडले ५ लाखमा चित्त बुझायो । गछियाका दोर्जे तामाङ फाइनल खेलको प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद १० हजार र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक गछिया कै बिशाल सुनार बन्दा उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाईजका निग्मा घिसिङ चुनिए । उत्कृष्ट मिडफिल्डर पनि प्लानिङ ब्वाईज कै प्रताप सिंह राई बन्दा उत्कृष्ट फरवार्ड गछियाका सुजन डंगोल बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक गछियाका अर्जुन बस्नेत चुनिए । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।
त्यसैगरी उदियमान खेलाडी आयोजक राष्ट्रिय जागृतिका युजन राई बने । उनले त्यसवापत एक थान एलइडी टिभी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार भने प्लानिङ ब्वाईजका फागुराम थारुले हात पारे । प्रतियोगिताभरि कुल ६ गोल रेका फागुरामले नगद २५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने गछियाका सुजन चौधरी घोषित भए । उनले त्यसवापत नगद १ लाख र ट्रफी हात पारे ।