News मदन मेला फुटबलमा महिलातर्फ धनकुटा, म्याङलुङ र जनता सेभेन सेमिफाइनलमा
रमेश समदर्शी

संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा जारी ऐतिहासिक मदन मेला २०८३ को महिला फुटबलतर्फ आज तीन खेल सम्पन्न भए ।

जसमा बीसीवाइसी बोधे धनकुटा, जनता सेभेन एफसी र म्याङलुङ स्पोर्टिङ सेमिफाइनलमा प्रवेश गरेका छन् । बीसीवाइसी बोधे धनकुटाले आठराइर् एफसीलाइ पराजित गरेको हो भने जनताले मुनाल क्लालबइ र साविक विजेता म्याङलुङले ग्रामीण समाज खाम्लालुङलाइ पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

आजै भएको पुरूषतर्फको खेलमा लिसिबुङ एफसी तेह्रथुममाथि संखुवासभाको नव सिर्जन प्रगतिशील युवा क्लबले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट संखुवासभाले जित निकालेको हो ।

यस्तै, अर्को खेलमा पाँचथर एफसी र झापाको चुलाचुली स्पोर्टिङ क्लबबीचको खेल प्रतिकूल मौसमका कारण स्थगित भएको छ । खेल सकिन ५ मिनेट बाँकी रहँदा अँध्यारो भएपछि खेल रोकिएको हो । खेलमो झापाविरूद्ध पाँचथर ३-२ गोलले अगाडि रहेको छ । बाँकी समयको खेल भोलि बिहान खेलाइने आयोजकले जनाएको छ ।

२०१५ सालदेखि लाग्दै आएको मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ७ टोली सहभागी छन् । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् । खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।

सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष लामाले बताएका छन् । गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।

Post Comments