News निशान्तको ह्याट्रिकसँगै आयोजक लखन ब्रदर्श क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक लखन ब्रदर्श युवा क्लब, बुटवल रुपन्देहीमा जारी दोस्रो लखन ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो प्रिक्वाटरफाइनलमा लखन ब्रदर्शले तिलोत्तमा ११, भूपू सैनिकलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

बुटवल १० स्थित रामनगर खेलमैदानमा भएको खेलमा लखन ब्रदर्शका लागि निशान्त न्यौपानेले ह्याट्रिकसहित चार गोल गरे । थप एक गोल भने दर्शन बिकले गरे । उता पराजित तिलोत्तमा ११ का लागि जमिर मियाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा चार गोल गरेका लखन ब्रदर्शका निशान्त न्यौपाने म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख १३ गते आइतबारको प्रिक्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र न्यु युथ युनियन क्लब, तानसेन, पाल्पा बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments