News तारा दल गण दोस्रो लखन कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । विभागीय टोली सेनाको तारा दल गण, बुटवल रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा तारा दल गणले दश खेलाडीमा सिमित बनेको योङ ब्वाईज एफसी, देवदहलाई २–० ले हराउँदै अन्तिम आठमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

तारा दल गणको जितमा भुपाल बरम र जस्मिन लिम्बुले गोल गरे । खेलका क्रममा रेफ्रीले हिमेश माझीलाई रातो कार्ड देखाउँदा योङ ब्वाईज दश खेलाडीमा खुम्चिएको थियो । यद्यपि खेलको नतिजा भने २–० कै सम्पन्न भयो । खेलमा तारा दल गणका गोलरक्षक सुरेन्द्र बुडा म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख १५ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता देवदह ब्वाईज, देवदह र शिवनगर युवा परिवार, बुटवल बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

 

Post Comments