झुरझुरे । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृती युवा क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँपालिका को मुख्य प्रायोजनमा सन्चालन भैरहेको आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८३ आज दोस्रो दिनमा प्रतियोगिताको दोस्रो खेल सम्पन्न भएको छ। उक्त खेलमा नव जनजागृति युवा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आर्मीका लागि कप्तान भरत खवासले खेलको ८ औं मिनेटमा र जनजातृतीका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरे।
नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो।
आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए ।आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।