News पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा मोरङको पथरी–११ ले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पथरी–११ ले डिफेन्डिङ च्याम्पियन पॉचथर एफसीलाई २–१ गोलले पराजित गर्दै उपाधि यात्रालाई बलियो बनाएको हो।

“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा मंगलबार सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा भने पूर्ण रूपमा रोमाञ्चक मोडमा पुगेको थियो।

खेलको ६२औँ मिनेटमा पॉचथर एफसीका विदेशी खेलाडी रिचार्डले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तर त्यो अग्रता लामो समय टिक्न सकेन—ठीक दुई मिनेटपछि नै पथरीका धिरेन क्षेत्रीले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ६८औँ मिनेटमा सौर्य राउतले निर्णायक गोल गर्दै पथरी–११ लाई २–१ को जित दिलाए। उनको उक्त गोल नै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गर्ने आधार बन्यो।

उत्कृष्ट प्रदर्शनका लागि पथरीका सौर्य राउत ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद रु. ७,००० सहित सम्मान प्राप्त गरे।

प्रतियोगिताको पॉचौ दिन, बैशाख २३ गते (बुधबार) पहिलो सेमिफाइनल खेलमा आयोजक यलम्बर युवा संस्था र म्याङलुङ स्पोर्टिङ क्लब, तेह्रथुमबीच प्रतिस्पर्धा हुनेछ।

बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Post Comments