News देवदहलाई दोस्रो लखन कपको उपाधि
सुरज राना मगर

बुटवल । लखन ब्रदर्श युथ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता देवदह ब्वाईज, देवदहले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा देवदहले सुनवल फुटबल क्लब, सुनवल (नवलपरासी) लाई ३–२ को अन्तरले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । देवदहको जितमा मिलन आले, सुजित बुढाथोकी र सुरज चौधरीले गोल गरे । उता पराजित सुनवलका लागि आवेश शाही र आशिष गुरुङले गोल गरेका थिए ।

विजेता बनेको देवदहले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सुनवलले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । देवदहका लागि सुजित बुढाथोकी फाइनल खेलको प्लेयर अफ द म्याच बने ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पनि देवदहका बिशाल केसी बन्दा उत्कृष्ट डिफेन्डर सुनवलका आशिष गुरुङ चुनिए । उत्कृष्ट मिडफिल्डर देवदह कै निर थापा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक लखन ब्रदर्शका निशन्त क्षेत्रीले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने देवदह ब्वाईजका सुजित चौधरी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख साबित्रा देवी अर्याल, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, आयोजक क्लबका अध्यक्ष सुदिप खत्री, खेल संयोजक राम थापा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments