News बिर्तामोड युनाइटेडलाई १३औं रारा रनिङ गोल्डकपको उपाधि
गोलनेपाल

राजारानी । धनकुटामा सम्पन्न १३औं रारा रनिङ गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब, झापाले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा बिर्तामोडले घरेलु टोली रारा फुटबल क्लब धनकुटालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ८०औं मिनटमा मणि लामाको पेनाल्टी गोलबाट अग्रता बनाएको राराले त्यो अग्रता जोगाउन सकेन । खेलको अन्तिमतिर इन्जुरी समयमा प्रशान्त लक्षमले बिर्तामोडका लागि बराबरी गोल फर्काएका थिए । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा बिर्तामोड युनाइटेड ५–४ ले विजयी बन्यो ।

विजेता बनेको बिर्तामोड युनाइटेड क्लबले उपाधिसहित नगद ७ लाख हात पार्यो भने उपविजेता आयोजक रारा फुटबल क्लबले ३ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । बिर्तामोडका प्रशान्त लक्षम फाइनल खेलको प्लेयर अफ द म्याच बने ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक बिर्तामोडाका अभिषेक बराल चुनिदा उदीयमान खेलाडी आयोजक राराका लोकेन्द्र चेम्जोङ बने । त्यस्तै कुल चार गोलका बिर्तामोड युनाइटेडका राजेश दाहाल सर्वाधिक गोलकर्ता बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राराका किरन चेम्जोङ घोषित भए ।

 

 

Post Comments