सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी प्रथम शान्तिदिप कप सैनामैना नगरस्तरीय वार्ड कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार वार्ड नम्बर १० (बी) र वार्ड नम्बर ३ (बी) सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सैनामैना ३ स्थित पर्सावल खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ वार्ड नम्बर १० (बी) ले वार्ड नम्बर ३ (ए) लाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा वार्ड नम्बर १० (बी) का शिवु बुढा मगर म्यान अफ द म्याच बने ।
त्यस्तै बिहीबार नै सम्पन्न चौथो क्वाटरफाइनलमा घरेलु टोली वार्ड नम्बर ३ (बी) ले वार्ड नम्बर ५ (ए) लाई २–० ले पराजित गर्यो । खेलमा वार्ड नम्बर ३ (बी) का पुजन दगामी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख २५ गते शुक्रबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलतर्फ दिनको ५ बजे वार्ड नम्बर १० (बी) र वार्ड नम्बर ४ (बी) भिड्ने छन् भने ५ बजे हुने दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ३ (बी) र वार्ड नम्बर १० (ए) भिड्ने खेल संयोजक बिशाल पुनले जानकारी दिए ।
शान्तिदिप युवा क्लब, सैनामैना–३, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष श्री दर्लामी मगरले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २७ गतेका दिन हुनेछ ।