बुटवल । बिस पचहत्तर युवा परिवार बुटवल - ७ दीपनगर रूपन्देहीको आयोजनामा श्री सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल अन्तर्गत सोमबार नेपाल पुलिस क्लब काठमाडौँ र हेटौंडा फुटबल एकेडेमी मकवानपुर प्रतिस्पर्धा गरेका छन्। उक्त खेलमा नेपाल पुलिस क्लब काठमाडौँले ९ - ० को फराकिलो जित हासिल गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
उपाधि दावेदार नेपाल पुलिस क्लब काठमाडौँलाई जित दिलाउनका लागि निर्मला बिकले ह्याट्रिक पूरा गर्दा सम्झना लावती,मनिषा राउत,साहारा लिम्बु,निरु थापा, अनुष्का शेर्पा,र निर्मला उपाध्यायले समान एक एक गोल गरे। ह्याट्रिक पूरा गरेकी नेपाल पुलिसकी निर्मला बिक नायक साबित हुँदै नगद रु.५००० सहित ट्रफी प्राप्त गरिन्।
मङ्गलबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल संकटा फुटबल क्लब काठमाडौँ र कपिलवस्तु - ११ कपिलवस्तु दिनको ठिक ३:३० बजे प्रतिस्पर्धा गर्नेछन्।