बुटवल । बिस पचहत्तर युवा परिवार बुटवल - ७ दीपनगर रूपन्देहीको आयोजनामा श्री सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा कपिलवस्तु - ११ कपिलवस्तुले संकटा फुटबल क्लब काठमाडौँको सामना गरेको छ।
मङ्गलबार सम्पन्न उक्त खेलमा कपिलवस्तु ११ लाई संकटा फुटबल क्लब काठमाडौँले ११- १ को फराकिलो नतिजामा पराजित गरेको हो। संकटाको एकपक्षीय जितमा विदेशी खेलाडी लुसिया जोसे मोकाम्बिक्यु एक्लैले दुई ह्याट्रिक सहित सात गोल गर्दा अर्की विदेशी खेलाडी कुइनाबेल अमाङ्क्राले ह्याट्रिक सहित चार गोल गरिन्। उता पराजित भएको टोली कपिलवस्तु ११ का लागि प्रतिमा मगरले एकमात्र गोल गरेकी हुन्।
उक्त खेलमा गोलबर्षात गरेकी लुसिया नायक साबित हुँदै नगद रु.५००० सहित ट्रफी प्राप्त गरिन्। यो जितसँगै संकटा फुटबल क्लब काठमाडौँले दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहर नवलपुरसँगको भेट पक्का गरेको छ।
बुधबार पहिलो सेमिफाइनल खेल अन्तर्गत गत संस्करणको विजेता ट्रिनिटी क्लब वालिङ सँग विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँले दिनको ठिक ३:३० बजे प्रतिस्पर्धा गर्नेछ।