जर्लैया । दर्शन क्लब, सैनामैना–११, जर्लैया, रुपन्देहीको आयोजनामा मंगलबारदेखि दोस्रो दर्शन कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
जर्लैया स्थित आयोजक क्लब कै मैदानमा भएको उद्घाटन खेलमा मुर्गिया फुटबल क्लब, मुर्गियाले विजयी शुरुवात गर्यो । खेलमा मुर्गियाले समपूर्ण युवा क्लब, सुपौलीलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
मुर्गियाको जितमा खेलको अन्तिमतिर निशान्त न्यौपानेले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलमा निर्णायक गोलकर्ता निशान्त न्यौपाने नै म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै मुर्गिया सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख ३० गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरीचापा र श्री नमुना ज्योति युवा क्लब, शिवराज, कपिलवस्तु बीच हुने खेल संयोजक अमृत शाहीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच समाजका जेष्ठ नागरिक ९५ वर्षिय डोर बहादुर मल्लले गरेका थिए । सो अवसरमा सैनामैना नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष राम प्रसाद भुसाल, आयोजक क्लबका अध्यक्ष गंगा सेन लगायतको पनि उपस्थिति रहेको थियो ।
आउँदो जेठ ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष गंगा सेनले बताए ।