तुम्बेवा । पाँचथरको तुम्बेवा गाउँपालिका मा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष तथा गाउँपालिका स्तरीय महिला फुटबल प्रतियोगिता–२०८३” रोमाञ्चक मोडमा पुगेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलहरूसँगै पुरुषतर्फ सुम्निमा पारूहाङ एफसी र मिक्लाजुङको फक्ताङलुङ एफसी उपाधिका लागि आमनेसामने हुने भएका छन् भने महिलातर्फ वडा नं. ३ मौवा र वडा नं. ५ हाङ्गुमले फाइनल यात्रा तय गरेका छन् ।
सुम्निमा पारूहाङको शानदार प्रदर्शन, युनिश मगरको ह्याट्रिक
प्रतियोगिताको पहिलो पुरुष सेमिफाइनलमा सुम्निमा पारूहाङ एफसीले सन्जिवनी स्पोर्टिङ धनकुटामाथि एकतर्फी दबाब कायम गर्दै ६–० गोलको फराकिलो जित निकाल्यो । सुम्निमाको जितमा युनिश मगर चम्किए । उनले उत्कृष्ट ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जित दिलाए । त्यस्तै स्टार राईले दुई तथा अर्जुन गुरुङले एक गोल थपे ।
आक्रामक खेलशैली, उत्कृष्ट टिमवर्क र दर्शकलाई रोमाञ्चित बनाउने प्रदर्शनका कारण सुम्निमाले उपाधि दाबेदारका रूपमा आफूलाई मजबुत बनाएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका युनिश मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
सडन डेथको रोमाञ्चमा फक्ताङलुङको ऐतिहासिक जित
दोस्रो सेमिफाइनल भने प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलका रूपमा रह्यो । तुम्बेवा–१ र फक्ताङलुङ एफसीबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले ४–४ गोल गरेपछि खेलको निर्णय सडन डेथमार्फत गरिएको थियो ।
सडन डेथमा फक्ताङलुङ एफसीले ५–४ गोल अन्तरले जित निकाल्दै उपाधि भिडन्तमा सुम्निमा पारूहाङसँगको भेट पक्का गर्यो ।
खेलको पहिलो हाफमा शुशिल लावतीको गोलमार्फत तुम्बेवा–१ ले अग्रता लिएको थियो । तर दोस्रो हाफमा दिपेश लिङखिमले शानदार गोल गर्दै फक्ताङलुङलाई खेलमा फर्काएका थिए । निर्णायक क्षणमा संयमित प्रदर्शन गरेका दिपेश लिङखिम ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले पनि नगद रु. १ हजार ५ सयसहित ट्रफी हात पारे ।
महिलातर्फ मौवा र हाङ्गुमको दमदार यात्रा
महिला फुटबलतर्फ पनि प्रतिस्पर्धा उत्तिकै रोमाञ्चक बनेको छ । पहिलो सेमिफाइनलमा वडा नं. ५ हाङ्गुमले वडा नं. ४ वलनेलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा वडा नं. ३ मौवाले वडा नं. १ आङनामाथि ४–१ गोलको प्रभावशाली जित निकाल्दै उपाधि यात्रा तय गर्यो ।
मौवाको जितमा प्रनिशा कुरुङवाङ एक्लैले चार गोल गर्दै अद्भुत प्रदर्शन गरिन् । आङनाका लागि निरुता लिम्बुले सान्त्वना गोल फर्काइन् । उत्कृष्ट प्रदर्शनकै कारण प्रनिशा कुरुङवाङ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरिन् ।
आकर्षक पुरस्कार र पर्यटन प्रवर्द्धनको लक्ष्य
जेठ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
महिलातर्फ विजेताले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. १६ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
गाउँपालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिता केवल खेलकुदमा सीमित नभई युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगितामार्फत तुम्बेवा गाउँपालिका का धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य समेत राखिएको छ । बाहिरी जिल्लाबाट आउने खेलाडी, दर्शक तथा पर्यटकको आगमनले स्थानीय पर्यटन, होटल व्यवसाय तथा व्यापार क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
- तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत्र २५ देखि