News बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । १८औँ शहिद भिमनारायण गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा शानदार प्रदर्शन गर्दै बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा बजारस्थित तल्लो टुडिखेलमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बेलबारीले सातदोबाटो युथ क्लब ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको निकै रोमाञ्चक मोडमा बेलबारीका विदेशी खेलाडी बाबा टुन्डे नायक बने । उनले खेलको ७५औँ मिनेटमा गरेको आकर्षक गोल नै निर्णायक सावित भयो । टुन्डेको गोलसँगै मैदानमा उपस्थित दर्शक उत्साहले गुञ्जिएका थिए ।

उत्कृष्ट प्रदर्शनका लागि बाबा टुन्डे ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद रु ६ हजार ५ सहित ट्रफी हात पारे ।

अब प्रतियोगिताको सेमिफाइनल चरण थप प्रतिस्पर्धात्मक बन्ने भएको छ । बिहीबार जेठ १४ गते हुने पहिलो सेमिफाइनलमा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठान धनकुटा र सलहेस युथ क्लब सिराह आमनेसामने हुनेछन् ।

त्यसैगरी, जेठ १५ गते हुने दोस्रो सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड र बेलबारी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुनेछ ।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु ६ लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३ लाखसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

धनकुटाको फुटबल माहोललाई थप उत्साहपूर्ण बनाइरहेको गोल्डकपमा अहिले दर्शकको उल्लेखनीय उपस्थितिले मैदान झनै जीवन्त बनेको छ ।

Post Comments