News लुम्बिनी फुटसललाई उपाधि
सुरज राना मगर

बुटवल । प्रथम इन्टर रुपन्देही खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी फुटसल प्रा.लि. ले जितेको छ । बुटवल योगीकुटी स्थित घरेलु मैदान लुम्बिनी फुटसल एरिनामा सम्पन्न फाइनल खेलमा लुम्बिनी फुटसलले चपरहट्टी फुटसल क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको लुम्बिनी फुटसलले उपाधि सहित नगद ३० हजार हात पार्यो भने उपविजेता चपरहट्टीले १५ हजारमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि विजेता लुम्बिनी फुटसल कै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका कुशल गुरुङ चुनिए भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि लुम्बिनी फुटसल कै क्रमशः रेशम थापा र अमन पुन घोषित भए ।

लाफा समुह, बुटवलको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल २१ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक प्रबिन थापा दर्लामीले बताए । संयोजक दर्लामी कै सञ्चालन तथा रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुनको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक यम प्रसाद गुरुङ, लाफा समूहका अध्यक्ष तारा रेश्मी, आर्थिक संयोजक बारिश राना लगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रम सफलताका साथ सम्पन्न सहयोग पुर्याउने सबैलाई प्रतियोगिता संयोजक दर्लामीले सम्मानसहित धन्यवाद र आभार समेत प्रकट गरे । साथै उनले आगामी दिनहरुमा पनि सबैतर्फबाट सहयोगको अपेक्षा समेत राखे ।

Post Comments