News वैशाख पहिलो साता नेपाल सुपर लिग
गोलनेपाल

काठमाडौं । नेपाल मै पहिलोपटक बहुप्रतिक्षित मानिएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग आगामी बर्ष २०७८ को वैशाख १० (अप्रिल २४) देखि हुने भएको छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताबारे सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो ।

लिगमा सहभागिता जनाउने फ्रेन्चाईज टोलीहरु विभिन्न प्रदेशका शहरहरुबाट छनौट गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । यद्यपि सहभागि टोलीहरुको नाम र क्लब मालिकहरुको विस्तृत जानकारी भने पछि सार्वजनिक गरिने बताइएको छ ।

आयोजकका अनुसार एक क्लबमा विदेशी खेलाडीहरु सहित कुल २० खेलाडीहरु राख्न पाइनेछ । साथै खेलाडीहरुको श्रेणी निर्धारण गरि अक्सन मार्फत खेलाडीहरु अनुबन्ध गरिने पनि आयोजकले जनाएको छ ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १९ खेलहरु हुनेछन् । जुन खेलहरु सबै दशरथ रंगशालामा हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताको पुरस्कार रकम र अन्य विस्तृत विवरण पछि घोषणा गरिने पनि बताइएको छ ।

भारतमा लोकप्रिय फ्रेन्चाईज फुटबल

फुटबलमा पनि राम्रै छलाङ मारेको छिमेकी मुलुक भारतमा फ्रेन्चाईज फुटबल इण्डियन सुपर लिग लोकप्रिय छ र जारी पनि छ । हाल लिगको सातौं संस्करण चलिरहेको छ । लिगमा कुल ११ फ्रैन्चाईज टोलीहरु उपाधिका लागि भिड्दै छन् ।

लिगमा अन्तर्राष्ट्रियस्तर मै ख्याती कमाइसकेका व्यवसायीक फुटबल खेलाडीहरु अनुबन्ध गरेर भारतीय फ्रेन्चाईज फुटबल क्लबहरुले भारतीय खेलाडीहरुलाई र फुटबल समर्थकहरुलाई पनि राम्रो अवसर र खुराक पस्किरहेका छन् ।

पश्चिमी फुटबलमा व्यवसायीक फुटबल खेलिसकेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा भारतीय खेलाडीहरुले पनि राम्रो सिक्ने र बुझ्ने अवसर पाइरहेका छन् । त्यसैले पनि भारतको फुटबल पछिल्लो समय माथी उक्लिने क्रम जारी छ ।

यद्यपि नेपालमा आयोजना हुने यो पहिलो फ्रेन्चाईज फुटबलले कत्तिको लोकप्रियता हासिल गर्ने हो र फुटबलले विकासको छलाङ मार्ने हो? त्यसका लागि नेपाली फुटबल समर्थकहरुले नयाँ बर्ष नै पर्खनु पर्ने भएको छ ।

Post Comments