News गोलनेपालद्वारा युवा खेलाडी राईलाई आर्थिक सहयोग हस्तान्तरण
गोलनेपाल

गोलनेपाल सपोटर्सद्वारा प्राप्त युवा फुटबल खेलाडी प्रज्वल राईको उपचार खर्च वापतको सहयोग रकम एक कार्यक्रमका बीच राईको परिवारलाई हस्तान्तरण गरिएको छ ।

गोलनेपाल सपोटर्सको तर्फबाट संकलित ४ लाख ६६ हजार १२९ रुपैयाँ गोलनेपालका प्रदेश १ प्रतिनिधि तथा पत्रकार जनम बरालले आइतबार एक कार्यक्रमका बीच राईको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकम हात पारेसँगै राईको परिवारले उनको उपचारका लागि लिएको ऋण पनि तिरेका छन् । स्मरण रहोस, गत कार्तिक ७ गते फेयर एफसी धरानका लागि खेल्ने क्रममा प्रज्वल राई गम्भिर रुपमा घाइते हुन पुगेका थिए ।

उनलाई उपचारका लागि अस्पताल लगेपछि उनको मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने बताइएको थियो । कमजोर आर्थिक अवस्था भएको राईको परिवारलाई उपचार खर्चका लागि सहयोगको अपिल गरेका थिए ।

त्यसपछि नेपाली फुटबलमा सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले राईको सहयोगका लागि अभियान नै चलाएको थियो । जसमा विभिन्न फुटबल खेलाडी तथा देश विदेशमा रहेका फुटबल समर्थकहरुले उनलाई आर्थिक सहयोग गरेका थिए ।गोलनेपालका अनुसार उनको उपचारका लागि ५ लाख ५० हजार खर्च भएको थियो । हाल राई अस्पतालबाट समेत डिस्चार्ज भईसकेका छन्

उता गोलनेपाल र खेलदैनिक डटकम संयुक्त रुपमा सञ्चालन गरिरहेको बिबा मिडिया ग्रुपका सिइओ बिक्रम थापाले यो सहयोग अभियानमा हातेमालो गर्ने सबैप्रति आभार तथा धन्यवाद प्रकट गरे । साथै सिइओ थापाले आगामी दिनहरुमा पनि यस्तै समस्यासँग जुधिरहेका फुटबल खेलाडीहरुलाई आफूहरुको सहयोग अभियान निरन्तर जारी रहने समेत बताए ।

उता प्रज्वल राईका पिता जय प्रकाश राईले छोराको उपचारका लागि पाएको त्यो सहयोगलाई अझै पनि विश्वास गर्न नसकेको भन्दै खुशी व्यक्त गरे । उनले छोराको उपचारमा यति रकम सहयोग जुटला भनेर विश्वास नगरेको प्रतिक्रिया दिए । साथै उनले गोलनेपाल र गोलनेपाल सपोटर्सलाई पनि हृदयदेखि नै धन्यवाद पनि दिए ।

Post Comments