News मिलडाँडा भेट्रान्सः चन्द्रगढीको पोस्टमा आयोजकको गोल वर्षा
रमेश समदर्शी

झापा । चन्द्रगढी भेट्रान्स एफसीमाथि गोल वर्षा गर्दै आयोजक टिम झापाको अर्जुनधारामा जारी प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजकले चन्द्रगढीलाई ७-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकका लागि खेम पोखरेलले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित चार गोल गरे । उनले खेलको २७औँ, २८औँ, ३८औँ र ४७औँ मिनेटमा गोल गरेका थिए । यस्तै, प्रविन राईले नवौँ, अंकुर खड्गीले २३औँ तथा विनोद बान्तवाले ५६औँ मिनेटमा गोल थपे । चन्द्रगढीका गजेन्द्र राईले खेलको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए ।

खेलभर आयोजक टोलीले चन्द्रगढीमाथि दबाब कायम राखेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य प्रवेश कटवाल, स्टार खेलाडी अंकुर खड्गी र खेम पोखरेलसहित मैदानमा उत्रिएको आयोजक टोलीविरुद्ध चन्द्रगढीले प्रभावकारी आक्रमण बनाउन सकेन ।

चार गोल गरेका आयोजक टोलीका खेम पोखरेल प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्का प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो खेलमा बौद्ध भेट्रान्स फुटबल क्लब पाँचथर र चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

Post Comments