चितवन । कमब्याक जित हात पार्दै गोल्डन ईमिनेन्ट सूर्यपुर एफसी प्रथम पञ्चकन्या गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रत्ननगरस्थित टिकौली मैदानमा आज भएको खेलमा सूर्यपुरले अभिषेक चर्च रजहरलाई टाईब्रेकरमा ३-० ले हरायो । टाईब्रेकरमा सूर्यपुरका गोलरक्षक विशाल सुनारले २ प्रहार रोकेपछि अभिषेक चर्चको यात्रा पहिलो चरणमा नै टुंगियो ।
त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने अभिषेक चर्चले लिएको थियो । पहिलो हाफमा रोशन पहारीले गोल गर्दै अभिषेक चर्चलाई अग्रता दिलाएका थिए ।
खेलको अतिरिक्त समयमा उपहार गोलमा सूर्यपुरले बराबरी गर्यो । निर्धारित समय बराबरीमा सकिएपछि टाईब्रेकरमा धकेलिएको खेलमा सूर्यपुर ३-० ले विजयी भयो । टाईब्रेकरमा नायक बनेका सूर्यपुरका गोलरक्षक विशाल प्लेयर अफ दि म्याच बने । सूर्यपुरले अब पहिलो सेमिफाइनलमा २१ गते मकवानपुर जिल्ला फुटबल संघको सामना गर्नेछ ।