News पर्साका बालबालिकालाई गोलनेपालको सहयोग
गोलनेपाल

विगत एक दशकदेखि नेपाली फुटबलमा सक्रिय भईरहेको लागिपरेको गोलनेपाल फाउण्डेशनले पर्सा जिल्लाका बालबालिकाहरुलाई फुटबल सामग्री हस्तान्तरण गरेको छ । बिबा मिडिया ग्रुपको मातहतमा रहेर सक्रिय फाउण्डेशनले शुक्रबार एक कार्यक्रमका बीच पर्सा जिल्ला फुटबल संघलाई २५ थान एडिडास फुटबल हस्तान्तरण गर्यो ।

फाउण्डेशनका अनुसार फुटबल संघले उक्त फुटबलहरु नियमित प्रशिक्षणमा सहभागि हुँदै आएका बालबालिकाहरुलाई हस्तान्तरण गरेको थियो । गोलनेपालका लागि उक्त सहयोगका लागि पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पर्वत पाण्डे र उनको अन्य खेलाडी साथीहरुले ५०० अमेरिकी डलर सहयोग गरेका थिए ।

बल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रशिक्षक गृष्म शाक्य तथा पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश श्रेष्ठले गोलनेपाल र फुटबल खेलाडी पाण्डेलाई विशेष धन्यवाद दिए । साथै प्रशिक्षक शाक्यले सहयोग प्राप्त गरेपछि अब साना खेलाडीहरुलाई नियमित प्रशिक्षण दिन थप सहयोग पुग्ने समेत बताए ।

उता बिबा मिडिया ग्रुपका सिइओ बिक्रम थापाले पनि पर्सा जिल्लाका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । थापाले भने, “हामी प्रदेश २ का विभिन्न जिल्लाहरुमा प्रोजेक्ट सञ्चालन गरिरहेका छौं । हामी यो प्रदेशबाट अझ बढी फुटबल खेलाडी उत्पादन होस भन्ने चाहन्छौं । यो प्रोजेक्ट अन्तरगत हामी यसअघि नै चार जिल्लाहरुमा पुगिसकेका छौं । अब हामी थप चार जिल्लाहरुमा पुगेर त्यहाँका फुटबल संघ, स्थानीय क्लब र स्कुलहरुलाई फुटबलप्रति झुकाव राख्न थप उत्साहित गराउने छों ।”

साथै सोही अवसरमा यो अभियानलाई पुर्णता दिन विशेष सहयोग पुर्याउने पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पर्वत पाण्डेलाई पनि सिइओ थापाले विशेष धन्यवाद दिए । स्मरण रहोस, अन्तर्राष्ट्रिय फुटबल खेलाडी पाण्डे हाल अमेरिकामा बसोबास गरिरहेका छन् ।

गोलनेपालले प्रत्येक महिना विभिन्न जिल्लाहरुमा पुगेर त्यहाँका स्थानीय खेलाडी, खासगरी महिला खेलाडी, स्कुल, स्थानीय रेफ्री तथा फुटबल स.घहरुलाई सहयोग गर्दै आईरहेको छ । गोलनेपालका अनुसार फाउण्डेशनले हालसम्म यो अभियानलाई २७ जिल्लाहरुमा सफलताका साथ सम्पन्न गरेको छ र आगामी दिनहरुमा नेपालका ७७ वटै जिल्लामा यो अभियानलाई पुराउने योजनामा समेत रहेको छ ।

Post Comments