
विराटनगरका फुटबल रेफ्री तथा प्रशिक्षक बिक्रम कार्की (विक्की) ले आफ्नो पेसा भन्दा भिन्नै तर समाजका लागि निकै प्रेरणादायी काम गरेका छन् । ‘एक प्रयास समाज खुशीका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित कार्कीले एक असहायक दम्पतीलाई बस्नका लागि घर बनाईदिएका छन् ।
विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र शुशिला श्रेष्ठ दम्पतीको घर गत सालमा आएको बाढीले क्षती पुराएको थियो । श्रीमान् मुटुको रोगी छन् भने श्रीमती प्यारालाईसिसबाट ग्रस्त छिन् र परिवारमा दुइ जना मात्र छन् । श्रेष्ठ दम्पतीका छोरा दिपक श्रेष्ठको पनि निधन भाहिसकेको छ र परिवारमा दुइ मात्र रहेका छन् । कुनै समय फुटवलका गोल किपर रहेका श्रेष्ठ दम्पतीका छोरा दिपक श्रेष्ठको २०५६ सालमा निधन भएको थियो ।
घर नभएर बाहिरै बस्नु पर्ने अवस्थामा पुगेका श्रेष्ठ दम्पतीलाई एउटा घर बनाइदिने सोच बनाउदै रेफ्री कार्कीले विभिन्न क्षेत्रबाट रकम जुटाउन सुरु गरे । सुरुवाती दिनमा रकम उठाउन निकै कस्ट गर्नु परे पनि पछि भने केहि सहज हुदै गयो ।
४०२ दिनको मेहेनत र प्रयासपछि करिब २ लाख पचास हजारको लागतमा असहायक दम्पतीका लागि एउटा सानो र सुहाउँदो घर बन्यो । घर निर्माणको लागि विराटनगर महानगरपालिका, राउत कन्ट्रक्शन, जिवन विकास समाज, सेन्ट म्यारीज स्कुलले निर्माण सामाग्री उपलब्ध गराएका थिए ।
विभिन्न क्षेत्रबाट राम्रो सहयोग प्राप्त गरे पनि अझै पचास हजारको ऋण रहेको बताउदै रेफ्री कार्कीले अब यो ऋण तिरी सक्दा आफ्नो सपना पूर्ण रुपमा सफल हुने बताए । उक्त सहयोग कार्यक्रममा उपस्थित भीम पराजुली, पर्शुराम बस्नेतले दम्पत्तीहरुलाई गरेको सहयोगप्रति कृतज्ञाता प्रकट गर्दै बाँकी रहेको ऋण आफूहरुले तिर्न सहयोग गर्ने बताए ।
त्यो कार्यक्रम सम्पन्न भए पछि घर हस्तान्तरण गर्ने क्षण वास्तवमै शुशिला श्रेष्ठको लागि एउटा खुसिको क्षण थियो । अपत्यारिलो लाग्ने गरी नयाँ घर पाएपछि गहभरि खुशीको आँसु झार्दै शुशिला श्रेष्ठले भनिन् “साँच्चै बिक्की हाम्रो छोरो भएर आएको छ ।”