
काठमाडौं । सातदोबाटो युथ क्लब जारी शहिद स्मारक बी डिभिजन लिगतर्फ आफ्नो बाँकी खेलहरु खेल्नु अघि नै ए डिभिजन लिगमा बढुवा हुन सफल भएको छ ।
जारी लिगमा सातदोबाटोलाई बलियो चुनौति दिइरहेको खुमलटार युथ क्लबले शनिबार श्री भगवती क्लबसँग १–२ को स्तब्धपुर्ण हार बेहोरेपछि बाँकी खेल अगावै सातदोबाटो शिर्ष डिभिजनमा उक्लिएको हो ।
जारी लिगमा आफ्नो दुई म्याच खेल्न बाँकी रहेको सातदोबाटोको ९ खेलबाट २५ अंक छ र लिगतालिकाको शिर्ष स्थानमा छ । उता खुमलटार भने १० खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा छ ।
शनिबार खुमलटारले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । एन्फा कम्प्लेक्स्मा सम्पन्न खेलको २६औं मिनटमा खुमलटारले सबिन केसीको गोलबाट खेलमा शुरुवाती अग्रता लिएको थियो ।
यद्यपि श्री भगवतीका लागि डोना थापाले ४०औं मिनटमा बराबरी गोल फर्काएका थिए भने आशिष श्रेष्ठले श्री भगवतीका लागि निर्णायक गोल गर्दै खुमलटारलाई निराश तुल्याएका थिए ।
यो नतिजापछि खुमलटारले आफूले खेल्न बाँकी रहेको खेल जितेर सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरे तापनि हेड टु हेडका आधारमा पछि पर्ने एन्फाले जनाएको छ ।
ब्वाईज युनियनलाई पनि सफलता
शनिबार नै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबमाथि १–० जित हात पार्यो । यो जितसँगै १० खेलबाट १७ अंक जोडेको ब्वाईज युनियन लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित टुसाल भने ९ अंकका साथ नवौं स्थानमा रहेको छ ।