News तालतलैयालाई तेस्रो बेलटार मिनी गोल्डकपको उपाधि
गोलनेपाल

बेल्टार । तेस्रो बेलटार मिनि गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि तालतलैया एफसीले जित्न सफल भएको छ । प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा तालतलैयाले इन्द्रेणी एफसीलाई पेनाल्टी शुटआउटमा ३–० ले हरायो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक फाइनल खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी शुटआउटमा भने तालतलैयाका लागि बिजु भुजेल, उमेश कार्की, रोमन लिम्बुले गोल गर्न सफल भए ।

उता इन्द्रेणीका लागि भने तीनै खेलाडीहरुले गोल गर्नबाट चुकेका थिए । जिवन धामी र तिर्थ बस्नेतको प्रहार तालतलैयाका गोलरक्षकले जोगाएका थिए भने अशोक खवासले प्रहार गरेको बल पोष्टबाट बाहिरिएको थियो । फाइनल खेलको म्यान अफ द म्याच तालतलैयाका सुनिल खड्का घोषित भए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक तालतलैयाका पुर्ण चेम्जोङ चुनिए भने उत्कृष्ट डिफेन्डर इन्द्रेणीका अशोक खवास घोषित भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार तालतलैयाका मौसम सुब्बाले हात पारे भने उत्कृष्ट फरवार्ड तालतलैया कै बिजु भुजेल घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने निरज बस्नेतले हात पारे ।

विजेता बनेको तालतलैयाले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता इन्द्रेणीले ५० हजारमा चित्त बुझायो । बेलटार युनाइटेड युथ क्लब, बेलटार उदयपुरको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments