News बिराट भेट्रान भोरङलाई उपाधि
गोलनेपाल

इटहरी । बिराट भेट्रान बिराटचोक, मोरङले १ नम्बर प्रदेशस्तरीय भेट्रान आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बिराटले आयोजक हाम्रो इटहरी भेट्रान क्लबलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

इटहरी स्थित जनता बहुमुखी क्याम्पकसको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा आयोजकले २२औं मिनटमा लिलाराम मगरको गोलबाट खेलमा अग्रता लिएको थियो । तर बिराटका लागि ३३औं मिनटमा श्याम तामाङले बराबरी गोल फर्काए । ६५औं मिनटमा आयोजकका मोहन गुरुङले आत्मघाती गोल गर्न पुग्दा बिराटले खेलमा २–१ को अग्रता बनायो सफल भयो ।

त्यस्तै तेस्रो गोल भने ७१औं मिनटमा रमेश गुरुङले गर्दै बिराट भेट्रानको जित सुनिश्चित गरेका थिए । विजेता बनेको बिराट भेट्रानले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता हाम्रो इटहरी भेट्रानले ३१,१११ रुपैयाँमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बिराट भेट्रानका प्रवेश कटुवाल घोषित भए । उनले पुरस्कार वापत ट्रफीसहित ५१०० नगद हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक आयोजक हाम्रा इटहरीका रुपक गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि आयोजक कै सन्तोष बस्नेत चुनिए ।

त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि आयोजक कै निर्मल तामाङ घोषित भए भने उत्कृष्ट फरवार्ड बिराट भेट्रानका रमेश गुरुङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २१–२१ सय र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष भिम पौडेल लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए । हाम्रो इटहरी भेट्रान क्लब, इटहरी, सुनसरीको आयोजनामा यहि फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments