News गजेन्द्र स्मृति महिला फुटबलको फाइनलमा पीवाईसी र न्यू पाथिभरा भिड्ने
रमेश समदर्शी

आठराई गाउँपालिका २ खाम्लालुङस्थित खेल मैदानमा जारी गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगिताको महिलातर्फ पाँचथरे दुई टिमले फाइनल भिड्ने पक्का भएको छ ।

पहिलो सेमिफाइनल खेलमा पीवाईसी फल्गुनन्द पाँचथरले न्यू पाथिभरा स्पोर्टिङ क्लब चोकमागु पाँचथरसँग आइतबार फाइनल भिड्ने भएको हो । पीवाईसीले आयोजकलाई ४–० गोलले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । पीवाईसीका लागि अविना राईले २ गोल र स्मृति राई र जिलिसा चेम्जोङले १–१ गोल गरिन् । अविना प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यू पाथिभराले अवतारी बागदल फूलबारी ताप्लेजुङलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । ताप्लेजुङलाई टाईब्रेकरमा २–१ गोल अन्तरले पराजित गरेपछि न्यू पाथिभराले कम्तिमा ४० हजार सुरक्षित गरेको छ ।

दोस्रो खेलको प्लेयर अफ द म्याच अन्जना थुलुङ घोषित भइन् । उनले नगद १ हजार पाइन् । प्रतियोगिताको विजेताले ६० हजार र ट्रफी पाउनेछ । आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ टिम सहभागी थिए ।

Post Comments