आठराई (तेह्रथुम) । यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगिताको फाइनलमा तेह्रथुमकै दुई टिमले फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार खाम्लालुङ खेलमैदानमा भएको सेमिफाइनल खेलमा सेन्लप युवा क्लबले नाइट स्टार फेदाप २ लाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकर रोजिएको थियो । जसमा ३–१ गोल अन्तरले सेन्लप फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सीवाईसी म्यालुङ तेह्रथुमले फेदाप ४ र ५ को संयुक्त टिमलाई ३–० गोलले पराजित गर्दै सेन्लपसँग फाइनल भेट पक्का गर्न सफल भएको हो । सीवाईसीका लागि बुद्धिराज लिम्बू, विशाल काफ्ले र विवेक गुरुङले गोल गरेका थिए ।
आइतबार हुने प्रतियोगिताको फाइनल खेलको विजेताले उपाधिसहित नगद नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्नेछ ।
आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ कुल १२ टिमहरु सहभागी थिए ।