News सुनसरीमा कम्युनिटी कोचिङ कोर्ष शुरु
गोलनेपाल

धरान । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा कम्युनिटी कोचिङ कोर्ष सोमबारदेखि शुरु भएको छ । धरान स्थित एन्फा टेक्निकल सेन्टरमा शुरु भएको कोर्ष फागुन २७ गतेसम्म चल्नेछ ।

तीन दिनसम्म चल्ने कोर्षमा प्रदेश नम्बर १ का सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम र ओखलढुंगाका गरि कुल ३० प्रशिक्षार्थीहरु सहभागि छन् । कोर्षको सहजीकरण भने एन्फाका हेड अफ कोच एजुकेशन संजित सिंहले गरेका छन् ।

कोर्षको पहिलो दिन कार्यक्रमको प्रमुख आतिथ्यता अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ फुटबल संघका अध्यक्ष किशोर राईले गरेका थिए । सो अवसरमा राईले यो कोचिङ कोर्ष सञ्चालनले फुटबलको प्रशिक्षणमा लाग्न चाहने स्थानीय फुटबल प्रशिक्षकहरुलाई राम्रो अवसर मिल्ने बताए ।

त्यस्तै कोर्षबाट फुटबलको आधारभुत ज्ञानले फुटबललाई राम्रोसँग बुझ्न सहयोग मिल्ने सहभागी प्रशिक्षार्थीहरुले विश्वास व्यक्त गरे । सो अवसरमा सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नविन राई लगायत अन्य पदाधिकारी र अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

 

Post Comments