News एन्फा प्रेसिडेन्ट लिग शुरु, स्टार सिटीको विजयी शुरुवात
गोलनेपाल

नेपालगञ्ज । सोमबारदेखि नेपालगञ्जमा शुरु एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटी युवा क्लब, कैलालीले विजयी शुरुवात गरेको छ ।

नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा स्टार सिटीले मनकामना युवा क्लब, रौतहटमाथि ३–० को प्रभावशाली जित निकाल्यो । खेल शुरु भएको तेस्रो मिनटै स्टार सिटीका लागि रुप बहादुर लामाले पहिलो गोल गरेका थिए ।

४६औं मिनटमा दिपक सिंह ठकुरीले त्यो अग्रता दोब्बर पारे । खेलमा सहज जित निकाल्ने क्रममा खेलको अन्तिमतिर ८१औं मिनटमा रुप बहादुर लामाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्टार सिटीको जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच स्टार सिटीका दुई गोलकर्ता रुप बहादुर लामा नै घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए । आउँदो १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments