News जेबीएम एकेडेमी फाइनलमा प्रवेश, गोर्खा ब्याइज पराजित
गोलनेपाल

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डी गाउँस्थित मिनी रंगशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा जेबीएम फुटबल एकेडेमी, लखनउ (भारत) ले गोर्खा ब्याइज क्लब, बुटवल (रुपन्देही)लाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफमा १२औँ मिनेटमा निखिल तामाङले उत्कृष्ट गोल गर्दै जेबीएमलाई अग्रता दिलाए र पहिलो हाफ १–० मा सकियो।

दोस्रो हाफमा खेल थप नाटकीय बन्यो। ४६औँ मिनेटमा जेबीएम एकेडेमीका सुजन मगर दोहोरो पहेंलो कार्ड प्राप्त गरी मैदान बाहिरिएपछि खेल केही समयका लागि सन्तुलित बनेको थियो। त्यसपछि पनि जेबीएमले आफ्नो पकड कायम राख्दै ४२औँ मिनेटमा सुरज भण्डारी र ६०औँ मिनेटमा कमल जिसीमार्फत दुई थप गोल गर्दै स्कोर ३–० पुर्यायो। ७०औँ मिनेटमा गोर्खा ब्याइजका सुरज थारुले एक गोल फर्काए पनि ७९औँ मिनेटमा उमेश थापाले रातो कार्ड पाएपछि टोली झन् दबाबमा पर्यो र खेलमा फर्किन सकेन।

पूरा समय ३–१ को जित निकाल्दै जेबीएम फुटबल एकेडेमीले फाइनलमा स्थान सुरक्षित गर्यो। खेलभर उत्कृष्ट बचाउ गरेका जेबीएमका गोलरक्षक मुकेश कुमार ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिता न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेको आयोजनामा सञ्चालन भइरहेको हो भने मुख्य प्रायोजक एमटी एरिना स्पोर्ट्स वेयर रहेको छ। चैत्र ३० देखि वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद रु. ७ लाख तथा उपविजेताले रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Post Comments