News जष्ट जोनलाई प्रथम खजुरा गोल्डकपको उपाधि
गोलनेपाल

६ वैशाख नेपालगन्ज । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले जितेको छ ।

खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हराउँदै च्याम्पियन बन्यो ।

नाइजेरियाको जितमा क्लब कोनले दुई तथा एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे ।

उपाधिसँगै नाईजेरियन जष्ट जोनले ४ लाख तथा उपविजेता जेविएमले ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र आयोजकले वितरण गर्यो । जस्ट जोनका लकेन सिट्टु उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स जस्ट जोनका बिल्गो, सर्वश्रेष्ठ खेलाडी जस्ट जोनका कप्तान एडवाड थोमस, जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक जस्ट जोनका सागर लामा र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बने ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले बताए । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता समापनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले प्रतियोगितालाई ऐतिहासिक उपलब्धिका रुपमा लिँदै अर्को संस्करण अझ भव्य बनाउनका लागि खजुरा तयार हुने उल्लेख गरे ।

Post Comments