News फुटसल फाईभ बन्यो प्रदेश १ फुटसल छनौट च्याम्पियन
गोलनेपाल

इटहरी । फुटसल फाईभ एफसी, धरान सुनसरीले मंगलबार सम्पन्न प्रदेश १ फुटसल छनौट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा शहरी प्रतिद्वन्द्वी द राईजिङ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै फुटसल फाईभ विजेता बनेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ द राईजिङका लागि सुदिप गुरुङले दुई गोल गरे भने मिलन लिम्बु र रिवस मास्केले एक–एक गोल गरे ।

उता फुटसल फाईभका लागि बिजय श्रेष्ठले दुई गोल गरे भने निरभ खड्का र प्रदेश जोशीले समान एक–एक गोलको योगदान दिए । टाईब्रेकरमा भने फुटसल फाइभले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

फाइनलमा पुग्न सफल भएका यी दुवै टोली पोखरामा हुने अन्तिम चरणको ए डिभिजन फुटसल लिगका लागि छनौट समेत भएका छन् । साथै दुवै टोलीले तयारी स्वरुप नगद १–१ प्राप्त गर्ने समेत बताइएको छ ।

फाइनल खेलको समापन कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य अतिथीहरुले विजयी खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

Post Comments