News तिनघरे साखेजुङ गोल्डकपको फाइनलमा
रमेश समदर्शी

सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब (टिवाइसी) यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब (पिवाइसी)लाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलमा पिवाइसीका खमिर गिल्सन कन्दङ्वाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा टिवाइसीका लेकल याल्मूले गोल गर्दै उत्कृष्ट पुनरागमन गराउँदै बराबरी गर्न पुगे ।

निर्णयका लागि लिइएको टाइब्रेकरमा पिवाइसीको पहिलो प्रहारमा बासुदेव राई असफल भए । त्यसपछि विवेक मगर, स्वस्तिक राई र युवराज बागदासको प्रहार गोलमा परिणत भए पनि जीतका लागि सम्भव भएन ।

फाइनल प्रवेश गरेको टिवाइसीका लागि कप्तान रविन राई, सौभाग्य लिम्बू, अभिषेक खड्का, शेखर राई र प्रज्वल राईको प्रहार गोलमा परिणत भएको थियो । खेलमा कम व्याक गराएका लेकल याल्मू म्यान अफ दी म्याच घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए ।

बुधबार रेडहर्ष एफसी इलामले बिब्ल्याँटेको हेलिबोथ एफसीसँग अन्तिम सेमिफाइनल खेल्नेछ । साखेजुङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ ।

Post Comments