News हाम्रो १२ बर्षदेखिको फुटबल यात्रा अझै अनवरत
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको गतिशील यात्रामा आफूलाई अनवरत उभ्याएर आफ्नै विशेष पहिचान बनाएको गोलनेपालले आज ११ बर्ष पूरा गरि १२औं बर्षमा प्रवेश गरेको छ ।

विभिन्न चुनौति, अभाव र कठिनाईका बीच नेपाली फुटबलसँगको सम्बन्धलाई सधै प्रगाढ बनाएको गोलनेपालले त्यो चुनौतिपुर्ण यात्रालाई आगामी दिनहरुमा पनि सहर्ष स्वीकार गर्दै अघि बढ्ने योजनामा समेत छ ।

हामीले १२औं वार्षिकोत्सव मनाईरहँदा गोलनेपालका सिइओ बिक्रम थापाले पनि सबैप्रति आभार प्रकट गरेका छन् । सिइओ थापाका अनुसार सबैको माया, सहयोग र समर्थन बिना गोलनेपालको यो दशकौंदेखिको सफलतम यात्रा सहज र सम्भव हुने थिएन ।

सिइओ थापा भन्छन्, “नेपाली फुटबलसँग हातेमालो गर्दाको यो १२ बर्षको अवधिमा हामीले सबैबाट न्यानो माया र साथ पायौं । हाम्रो प्रयास र झुकाव नै नेपाली फुटबलको विकासप्रति समर्पित छ । त्यसका लागि हामीले केही हदसम्म योगदान दिन पाउँदा निकै खुशी पनि छौं । हामीलाई यो पनि थाहा छ कि आउँदा दिनहरुमा हामीले अझ बढी गर्नुछ ।”

सिइओ थापा अगाडी भन्छन्, “सबैको माया, साथ र समर्थनले नै हाम्रो यो यात्रा यहाँसम्म आइपुग्न सम्भव पनि भएको छ । सबैको साथ पाउँदा नेपाली फुटबल विकासमा लागिपर्न हामी अझै उत्साहित र प्रेरित भएका छौं । साथै आगामी दिनहरुमा पनि सबैबाट हामीलाई सधै यस्तै माया, साथ, सहयोग र समर्थन मिल्नेछ भन्नेमा हामी विश्वस्त पनि छौं ।”

सिइओ थापाले सो अवसरमा गोलनेपालका पाठकवर्ग, सहयोगी, प्रायोजक, फुटबल समर्थक, शुभेच्छुक लगायत देश विदेशमा रहेका सम्पूर्ण फुटबलप्रेमीहरुप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।

साथै सोही अवसरमा सिइओ थापाले गोलनेपाल फाउण्डेशनको तर्फबाट नेपालका विभिन्न दुर्गम स्थानहरुमा पुगेर १२० थान फुटबल र खेलकुद सामाग्री बितरण गर्ने घोषणा समेत गरेका छन् । थापा भन्छन्, “नेपाली फुटबलप्रति हामी सधै समर्पित छौं । नेपाली फुटबललाई माथि उकास्न हामी पनि प्रयासरत छौं । हाम्रो ‘गोल’ नै नेपाल’ हो ।”

Post Comments