News गोलको खडेरी तोड्दै नेपाल बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं । १८ महिना लामो समयदेखि अड्किएको गोलको खडेरी तोड्दै नेपाल घरमै सम्पन्न थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल भिडन्तमा नेपालल बंगलादेशलाई २–१ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । नेपालले पहिलो हाफ मै गरेको दुई गोल घरेलु टोलीलाई उपाधि जिताउन प्रर्याप्त बन्यो ।

दशरथ रंगशालामा सम्पन्न खेलमा शुरुवातबाटै सुधारिएको प्रदर्शन गरेको नेपालका लागि १८औं मिनटमा सन्जोग राईले विपक्षी पोष्टको दाँया कुना च्याप्दै सुन्दर गोल गर्दा घरेलु टोली नेपाल हौसिएको थियो ।

पहिलो हाफ कै ४२औं मिनटमा बक्स नजिकैबाट विपक्षी गोलरक्षकलाई बिट गर्दै बिशाल राईले दोस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता खेलको अन्तिमतिर ८३औं मिनटमा बंगलादेशले एक गोल फर्काए तापनि पाहुना टोली हारबाट जोगिन सकेन ।

स्मरण रहोस, लिग चरणको खेलमा नेपालले बंगलादेश र किर्गिस्तान यु–२३ सँग गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको थियो भने बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो ।

प्रतियोगिताको विजेता बनेको नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेता बंगलादेशले ३ हजार डलरमा चित्त बुझायो ।

रोहित सर्वोत्कृष्ट खेलाडी

थ्री नेशन्स कपको सर्वोत्कृष्ट खेलाडी नेपालका स्टार रोहित चन्द घोषित भए । त्यसवापत उनले ५०० अमेरिकी डलर र ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच नेपालका संजोग राई चुनिए । उनले त्यसवापत २५० अमेरिकी डलर हात पारे ।

Post Comments