News पृथ्वी युवा क्लब सेमिफाइनलमा
सुरज राना मगर

सुस्ता । संघर्षपुर्ण जित निकाल्दै पृथ्वी युवा क्लब यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा पृथ्वीले वि.पी. स्मृति युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ द म्याच पृथ्वी युवा क्लबका गोलरक्षक गुन बहादुर गाहा मगर घोषित भए । उनलाई सुस्ता गाउँपालिकाका पार्टी अध्यक्ष ज्ञान प्रसाद पाठकले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १६ गते होली पर्वका कारण खेल नहुने आयोजकले जनाएको छ । त्यस्तै चैत्र १७ गतेका दिन पहिलो सेमिफाइनल खेल तिलकाना युवा क्लब, सुनवल र मायादेवी युवा क्लब, देवदहबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments