News एभरेष्ट युवा क्लब सेमिफाइनलमा
गोलनेपाल

एभरेष्ट युवा क्लब, चितवन रुपन्देहीमा जारी प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा एभरेष्टले विश्व शान्ति युवा क्लब, सैनामैनालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । एभरेष्टको जितमा शक्ति गुरुङ र सागर थापाले एक–एक गोल गरे ।

आइतबारको खेलमा एभरेष्ट युवा क्लब, चितवनका गोलरक्षक मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक सैनामैना–११ र भैरव एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ्ग युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद २०–२० हात पार्ने आयोजक क्लबका अध्यक्ष रानाले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार हात पार्नेछन् ।

Post Comments