News राजर्षि जनक कपः इन्जुरी समयमा कमब्याक गर्दै एपीएफ सेमिफाइनलमा
रमेश समदर्शी
अनपेक्षित पुनारगमन गर्दै सशस्त्र प्रहरी बलको एपीएफ टिमले जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित खेल सकिन ४ मिनेट बाँकी रहँदा दुई गोल गर्दै एपीएफले सेन्टर कलेज बिएफसी (भरतपुर) लाई पराजित गरेको हो । भरतपुरसँग तीन गोलले पछि परेको स्थितिलाई उल्टाउँदै एपीएफले रोमाञ्चककारी प्रदर्शन गरेको थियो । अन्ततः टाइब्रेकरमा भाग्यमानी सावित हुँदै एपीएफले ४-२ गोलअन्तरमा भरतपुरलाई पराजित गर्यो ।

निर्धारित समयमा दुवै टोलीले ३ ३ गोलको बराबरी खेले । पहिलो हाफमा २ ० गोलले पछि परेको एपीएफ खेलको ४९औँ मिनेटसम्म आइपुग्दा भरतपुर ३ ० गोलको अग्रतामा थियो । तर, अनपेक्षित प्रदर्शन गर्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ४ मिनेटमै भरतपुरका सन्त गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, पहिलो हाफकै ४४औँ मिनेटमा रञ्जित आलेले सुन्दर गोल गर्दै अग्रता दिलाउँदा भरतपुरकै नवराज गुरुङले थप गोल गर्दै ३ ० गोलको फराकिलो अन्तर निकालेका थिए ।

खेलको अन्त्यतिर एपीएफ आक्रामकरुपमा प्रस्तुत हुँदा अनपेक्षित पुनरागमन गरेको थियो । खेलको ७२औँ मिनेटमा प्रदिप लामाले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । यसबीचमा आशिष लामाले ४ मिनेटभित्र २ गोल गरेर खेललाई बराबरीमा ल्याइपुराएका हुन् ।

टाइब्रेकरमा एपीएफका कप्तान सुदिप शिख्रकार, प्रदिप लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत भयो भने भरतपुरका लागि क्षितिज राज र उमेश कार्कीको प्रहारले मात्र एपीएफको जाली चुमेको थियो । रञ्जित आलेको प्रहार बाहिरिँदा एन्जल गुरुङको प्रहार एपीएफका गोलरक्षक अमित चौधरीले उत्कृष्ट बचाउ गरे ।

खेलको म्यान अफ दी म्याच एपीएफका आशिष लामा घोषित भए । उनलाई आयोजक बाग्मती युवा क्लबका उपाध्यक्ष उमेश बानियाँले नगद १० हजार र ट्रफी प्रदान गरे । यसैबीच, एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा स्थानीय सुशान्त मगर चुनिए । उनलाई आयोजक क्लबका महासचिव सागर मैनालीले खल्ती एपको तर्फबाट नगद २ हजार प्रदान गरे ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

सोमबारको खेल आयोजक बाग्मती युवा क्लब सर्लाही र भारत सिलिगुडीको कञ्चनजंघा एफसीबीच खेल हुनेछ ।
Post Comments