News गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
गोलनेपाल

हरिवन। चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा जारी प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपको सेमिफाइनल समीकरण पुरा भएको छ। प्रतियोगिताका अन्तिम दुई क्वाटर फाइनल रोमान्चक र भव्य रुपमा शुक्रबार सम्पन्न भएका छन्।

शुक्रबार सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नव जन जागृति युवा क्लब सिमरा बारालाई १-० गोलको साँघुरो नतिजामा पराजित गर्दै गोलबजार स्पोर्ट्स क्लब सिराहा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। गोलबजारको जितमा दोस्रो हाफको अतिरिक्त समयमा अमन लामाले एकमात्र निर्णायक गोल गरेका हुन्। साथै उनी उक्त खेलको म्यान अफ द म्याच हुँदै नगद रु.२५०० सहित ट्रफी प्राप्त गर्न सफल भए।

शुक्रबार नै सम्पन्न भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा घरेलु टोली चतुर्भुजेश्वर फुटबल क्लब सर्लाहीले पाहुना टोलीको रूपमा आएको बलियो प्रतिद्वन्दी बीरगञ्ज युनाइटेड पर्सालाई सडन डेथमा पराजित गरी सेमीफाइनल प्रवेश गरेको हो। निर्धारित समय दुवै टोलीले एक एक गोलको बराबरी खेलेका हुन। बीरगञ्जको लागि दोस्रो हाफको १५ औँ मिनेटमा राफुल मियाले शानदार गोल मार्फत अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा घरेलु टोली चतुर्भुजेश्वरको लागि प्रतिक राईले बराबरी गोल फर्काउँदै खेल पेनाल्टी सुटआउटसम्म धकेल्न सफल भए।

नाटकीय पेनाल्टी सुटआउटमा दुवै टोलीबाट कुल १२ प्रहार हुँदा ९ प्रहार गोल हुन सकेन भने जम्मा ३ प्रहार मात्रै गोलमा परिणत भए। बीरगञ्जका गोल रक्षक टपरेज मियाले ह्याट्रिक सेभ गर्दा पनि आफ्नो टोलीको हारलाई जोगाउन सकेनन्। बीरगञ्जका तीन वटा प्रहारहरू गोलपोस्टमा ठोकिँदा दुई प्रहरलाई भने गोल रक्षक समिर तामाङले बचाउन सफल भए। बीरगञ्जको लागि गोल रक्षक टपरेज मियाले मात्रै पेनाल्टीमा गोल गर्न सफल भए।

चतुर्भुजेश्वरको तर्फबाट प्रहार भएका कुल ६ पेनाल्टीमध्ये तीन प्रहार बीरगञ्जका गोल रक्षक टपरेज मियाले जोगाउँदा एक प्रहार बाहिर गएको थियो भने दुई प्रहारगोलमा परिणत भए। समग्रमा घरेलु टोलीले २-१ गोलको नतिजामा जित हासिल गर्यो।

उक्त खेलमा घरेलु टोली चतुर्भुजेश्वर फुटबल क्लबका गोल रक्षक समिर तामाङ प्लेयर अफ द म्याच हुँदै नगद रु.२५०० सहित ट्रफी प्राप्त गरेका छन्।

शनिबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा युनाइटेड युवा क्लब महोत्तरीले गोलबजार स्पोर्ट्स क्लब सिराहाको सामना गर्नेछ। उक्त खेल दिनको ठिक २ बजे सुरुवात हुनेछ।

Post Comments