News राजर्षि जनक कपः सिमरा क्वाटरफाइनलमा प्रवेश
रमेश समदर्शी

सिमराको नव जनजागृति युवा क्लब यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम ११ सुदूरपश्चिमलाई २–१ गोलअन्तरमा पराजित गर्दै सिमराले क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेलमा सुदूरपश्चिमले पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो । तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सिमराले दर्शकको मन जित्दै दोस्रो चरणमा प्रवेश पाएको हो ।

सुदूरपश्चिमका खेलाडी भरत टमाटाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भने अपेक्षित प्रदर्शन गर्न नसक्दा १–० को स्थितिलाई उल्टाउँदै सिमराले बाजी मारेको हो ।

सिमराका लागि मोहित गुरुङले खेलको ५१औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनैले खेलको ८०औँ मिनेटमा गोल गरेर टोलीको जीत निश्चित बनाएका हुन् । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद १० हजार पाउन सफल भए ।

यस्तै, एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा एक फुटबल समर्थक चुनिए । उनले नेपाली राष्ट्रिय झण्डा फहराउँदै अनुहारमा पनि झण्डाको आकृति लगाएका थिए । उनलाई आयोजक क्लबका सचिव कुमार प्रधानले खल्ती एपको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

बुधबारको खेल दुई विदेश क्लबबीच खेल हुनेछ । भारतको कञ्चनजंघा एफसी सिलिगुडी र अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

Post Comments