News आयोजकलाई हराउँदै न्यु एभरेष्ट अन्तिम चारमा
गोलनेपाल

बलियो आँकिएको आयोजक सन्जिवनी युवा क्लबलाई हराउँदै न्यु एभरेष्ट युवा क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ ।

सोमबार तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनलमा न्यु एभरेष्टले आयोजकलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ न्यु एभरेष्टका लागि निराजन खत्रीले गोल गरेका थिए भने सन्जिवनीका लागि एलिस लुंगेलीले गोल फर्काएका थिए ।

खेलमा सन्जिवनीका एलिस लुंगेली नै म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १७ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल लुम्बिनी खुकुरी क्लब र रानीगंज युथ क्लबबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments